काठमाडौँ, २६ भदौ : भोटेकोशी बाढीपीडितका लागि राहत रकम सङ्कलन हँुदै गएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सङ्कलन भएको नगद क्रमशः दाखिला गर्नेको सङ्ख्या बढेसँगै कोषमा रकम बढ्दै गएको छ ।
काठमाडौँ : यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ९१ लाख ८४ हजार ६९५ दाखिला गरेको छ । महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाको नेतृत्वको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत कोषमा उक्त रकम जम्मा गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो ।
झापाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज बाढीपीडितका लागि रु ७५ लाख ५३ हजार ९४७ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ ।
प्याब्सनमा आबद्ध १३९ विद्यालयमार्फत सो राहत रकम सङ्कलन गरिएको प्याब्सन, झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बाराः कलैया उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि रु ७७ लाख ७७ हजार ७७७ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । उक्त रकम पालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीबाट सङ्कलन गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिनुभयो ।
बाँकेः बाँके जिल्लाका निजी विद्यालय तथा विद्यार्थीले भोटेकोशी बाढीपीडितको राहतका लागि सङ्कलन गरिएको रु ६५ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । विद्यार्थीले आफ्ना नियमित खाजा खर्चबाट जोगाएको उक्त रकम कोषमा जम्मा गरिएको प्याब्सन, बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो ।