बागमती, २४ भदौः आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौँडामा १६ श्ययासहितको अन्तरङ्ग सेवा सुरु गर्न लागिएको छ ।
आयुर्वेद चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढेपछि त्यस चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिन लागेको हो । उक्त सेवाका लागि आवश्यक पूर्वाधारसहित चिकित्सक उपलब्ध रहे पनि नर्सिङ विभागतर्फका कर्मचारी थप आवश्यक भएको चिकित्सालयका प्रमुख डा अमूल्य दहालले जानकारी दिनुभयो ।
अन्तरङ्ग सेवा सुरु गर्नका लागि न्यूनतम चार जना नर्सिङ स्टाफ आवश्यक हुने बताउँदै उहाँले त्यो उपलब्ध भएसँगै सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । चिकित्सालयमा हाल बहिरङ्ग सेवासहित फिजियोथेरापी, प्रयोगशाला, पूर्वकर्म÷पञ्चकर्म, अक्युपन्चरजस्ता सेवा सञ्चालनमा छन् ।
चिकित्सालयबाट हाल दैनिक करिब दुई सयको सङ्ख्यामा सर्वसाधारणले उपचार सेवा लिइरहेको सूचना अधिकारी अशोककुमार झाले जानकारी दिनुभयो ।