राँझा (बाँके), १६ कात्तिकः नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह गराउने उद्देश्यले वेस्टर्नलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न लागिएको हो ।
पश्चिम नेपालमा हाडजोर्नी उपचारमा ख्याति कमाएको अस्पतालले अब आफ्नो सेवालाई थप विशिष्टीकृत बनाउँदै ट्रमा उपचार केन्द्रका रूपमा स्थापित गर्ने कार्य सुरु गरेको अस्पतालका निर्देशक डा राहुल थापाले बताउनुभयो ।
“दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको तत्काल उपचार, दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धताले जीवन जोगाउन निर्णायक भूमिका खेल्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै नेपालगञ्जस्थित वेस्टर्नलाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक विशेषज्ञ जनशक्ति थप्ने, अत्याधुनिक उपकरण भित्राउने र शल्यक्रिया सेवाको क्षमता विस्तार गर्ने योजनाको साथ प्रक्रिया अगाडि बढाइएको छ ।”
अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखेका डा थापाले ट्रमा सेन्टरको अवधारणालाई व्यवहारमा उतार्न आवश्यक तयारी भइरहेको बताउनुभयो । नाम मात्रैको नभई सम्पूर्ण मापदण्ड पूरा गरेर वेस्टर्न अस्पताललाई यस क्षेत्रकै पहिलो ट्रमा सेन्टरका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रमा सेन्टरका रूपमा विकास हुन अस्पतालमा आकस्मिक उपचारका लागि आवश्यक जनशक्ति, विशेषज्ञ सेवा, उपकरण र उपचार पूर्वाधारको व्यवस्था हुनुपर्छ । सोहीअनुसार अस्पतालको क्षमता विस्तार गर्ने योजना बनाइएको छ । हाल १०० शय्याको स्वीकृति पाएको वेस्टर्न अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी सेवा, प्रसूति तथा स्त्रीरोग, नाक, कान तथा घाँटी, ग्यास्ट्रो सर्जरी, जनरल सर्जरीलगायत सेवा सञ्चालनमा छन् ।
गम्भीर प्रकृतिका बिरामीलाई २४सै घण्टा विशेषज्ञ चिकित्सक, नर्सको निगरानीमा राखी भेन्टिलेटरसहितको उपचार सेवा प्रवाह गर्दै आएको अस्पतालले उपत्यका बाहिर पहिलो पटक यसअघि ‘लेभल थ्री आइसीय’ू (उच्चस्तरी सघन उपचार कक्ष) सेवा सञ्चालन गरिरहेको छ । यस्तै सिटी स्क्यानद्वारा रोगको पहिचान र उपचार सेवा पनि प्रवाह गर्दै आएको डा थापाले जानकारी दिनुभयो ।
अब अस्पतालले न्युरोसर्जरी, कार्डियोलोजी, प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सा र बालरोग विशेषज्ञ सेवासमेत विस्तार गर्ने योजना रहेको डा थापाले बताउनुभयो । गम्भीर दुर्घटनामा टाउको तथा मस्तिष्कमा चोट लागेका, शरीरका विभिन्न अङ्गमा जटिल चोटपटक भएका र तत्काल शल्यक्रिया आवश्यक पर्ने बिरामीको उपचारमा विशेषज्ञ सेवाको भूमिका महत्वपूर्ण हुने भएकाले ट्रमा उपचारलाई प्रभावकारी बनाउन अस्पतालले विशेषज्ञ जनशक्ति र पूर्वाधारमा लगानी गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
अस्पतालका निर्देशक थापाका अनुसार हाडजोर्नी उपचारलाई थप व्यवस्थित बनाउने उद्देश्यले अस्पतालमा जोर्नी प्रत्यारोपणका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसका लागि दुई वटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) निर्माण भइरहेको छ । जोर्नी प्रत्यारोपण जटिल शल्यक्रियामध्ये एक हो । यसका लागि उपयुक्त शल्यक्रिया कक्ष, आवश्यक उपकरण, दक्ष जनशक्ति र सङ्क्रमण नियन्त्रणका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।
वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास भएसँगै नेपालगञ्ज आसपाससहित पश्चिम नेपालका जटिल चोटपटक तथा हाडजोर्नीसँग सम्बन्धित बिरामीले नजिकै विशेषज्ञ उपचार सेवा पाउने अपेक्षा गरिएको डा थापाले बताउनुभयो ।