डडेल्धुरा, २२ भदौ : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने बाध्यता हट्दै गएको छ ।
उक्त अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेबलगायत १३ जना कर्मचारी कार्यरत हुनुहुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत भएको छ ।
गाउँपालिकाले गत वैशाख १६ गतेदेखि अस्पतालबाट स्वास्थ्य सेवा दिन थालेकामा हाल दैनिक रुपमा २० भन्दा बढी स्थानीयले लाभ लिइरहेका छन् । जिल्लाका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालमध्ये सेवा सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको गाउँपालिकाले जनाएको छ ।
सरकारले विसं २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति लिएपछि गन्यापधुरामा अस्पताल निर्माण सुरु गरिएको थियो । अस्पताल निर्माणका लागि विसं २०७९ पुस ७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
गाउँपालिकाका सव–इञ्जिनियर केशव साहुका अनुसार अस्पताल निर्माणको कूल लागत रु १५ करोड ५७ लाख ५३ हजार रहेको छ । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक, प्रयोगशाला, फार्मेसीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । हाल प्रारम्भिक चरणका सेवा सञ्चालन भइरहेकाले आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप गर्दै सेवा विस्तार गरिने गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले बताउनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको र रेडियोग्राफरसहित आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापनको तयारी भइरहेको जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
“एमबीबीएस चिकित्सक आएपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा प्रयोगशाला, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्डलगायत सेवा थप गरी अस्पताललाई नमूना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ ।” अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा नमूना पुनका अनुसार सम्भव हुने बिरामीको यहीँ उपचार भइरहेको र जटिल अवस्थाका बिरामीलाई एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गर्ने गरिएको छ ।
अस्पतालमा हाल मौसमी ज्वरो, झाडापखालालगायत बिरामी बढी आउने गरेका छन् । प्रयोगशाला, प्रसूति तथा सामान्य स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा रहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र इसीजी सेवा भने सञ्चालनमा आउन बाँकी रहेको डा पुनले बताउनुभयो । स्थानीयवासी चक्रबहादुर कार्कीले अस्पतालको सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि र उपकरणको व्यवस्था आवश्यक रहेको बताउनुभयो । “एउटा आधारभूत अस्पतालमा उपलब्ध हुने सबै प्रकारका उपचारको व्यवस्था भए स्थानीयवासीलाई ठूलो राहत पुग्नेछ”, उहाँले भन्नुभयो ।
सरकारको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा १० शय्याका अस्पताल निर्माण भइरहेको छ ।