काठमाडौँ, २१ भदौः पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । काठमाडौँको विशालनगरमा आज आयोजित शिविरमा हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालसँगको सहकार्यमा आयोजित शिविरमा ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो ।
शिविरमा जेरियाट्रिक (ज्येष्ठ नागरिक हेरचाह सेवा) चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए भने मनोसामाजिक परामर्शदाताले सहभागीलाई आवश्यक परामर्श र सहयोग प्रदान गरेका थिए ।
ज्येष्ठ नागरिकहरू जलनसम्बन्धी घटनाका दृष्टिले पनि संवेदनशील हुने भएकाले शिविरमा जलनबाट बच्ने उपाय तथा सुरक्षासम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा घरायसी दुर्घटनाबाट हुने जलन रोकथाम तथा जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीबारे पनि जानकारी दिइएको थियो । जलनबाट हुने जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्था इन्टरप्लास्ट नेपालले यस सचेतना अभिवृद्धि पहलमा सहकार्य गरेको छ ।
शिविरमा सहभागी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या बढी देखिएको जनाइएको छ । पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे सचेतना अभिवृद्धि गर्न तथा आवश्यक सेवासँग उहाँहरूलाई जोड्न सहयोग पुगेको बताउनुभयो ।
सो संस्थाले हालैको रसुवागढी–बाढीबाट प्रभावित व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) तथा नेपाली प्रवासी र उहाँहरूका परिवारका लागि विशेष सहुलियत तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।