काठमाडौँ, ६ साउन : जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अङ्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् ।
घनश्याम, अङ्कु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् । घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरू त्यत्तैबाट टिमसँग समावेश हुने छन् । प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।
खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले बताउनुभयो । “यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौँ । भारतमा विभिन्न स्थानिय टोलीसँग अभ्यास खेल पनि खेल्छौँ”, तयारीबारे स्पष्ट पार्दै महासचिव झाले भन्नुभयो ।
टोली प्रशिक्षणस्थलबाटै आगामी असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।
नेपाली महिला कबड्डीले पनि २० औँ एसियाली खेलकुदमा सहभागिता जनाउने छ । महिला टोली दोश्रोपटक यस प्रतियोगितामा सहभागी हुन लागेको हो । चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापाले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिनुभयो ।