काठमाडौँ, ६ साउन : मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ । सङ्घीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन् । बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहनुभएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यतालिका नै बनाएर आफ्ना सांसदललाई मतादातासँग भेटघाटका लागि गाउँगाउँमा पठाएको छ । वर्षाको समय भएकाले किसान भने मुख्य धानलगायत बाली लगाउन व्यस्त छन् । गाउँ पुगेका सांसदहरूलाई जनताले विपद् जोखिम व्यवस्थापनका अतिरिक्त रासायनिक मलको आपूर्ति, बाँदर नियन्त्रणलगायत विषयलाई मुख्य समस्याका रूपमा सुनाएका छन् ।
पर्याप्त सिँचाइका अभावमा किसानले अझै पनि धान रोप्न नसकिरहेको अवस्था छ भने कयौँ स्थानमा बाढी पहिरो र डुबानको जोखिमसमेत व्यहोर्नुपरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार २०८३ वैशाखदेखि हालसम्म तीन हजार ५५७ विपद्का घटनामा १७० जनाको मृत्यु र एक हजार २३ जना घाइते भएका छन् । विपद्बाट चार हजार ६९५ घरपरिवार प्रभावित भएका छन् ।
यससन्दर्भमा राससले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतक एवं सचेतकसँग गरेको संवाद उहाँहरूले संसद् स्थगित भएको समयको सदुपयोग गर्दै आफूहरू विभिन्न माध्यमबाट जनताका बीचमा पुगिरहेको बताउनुभएको छ ।
‘७० प्रतिशत सांसद् गृहजिल्लामा हुनुहुन्छ’
प्रकाशचन्द्र परियार, सचेतक, रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका ७० प्रतिशत सांसद अहिले गृहजिल्ला, निर्वाचन क्षेत्र र गाउँगाउँमा पुग्नुभएको छ । निर्वाचित भएपछि जिल्ला जान नपाउनु भएका विधायक जनतासँग भेट्ने औपचारिक कार्यक्रम नै सार्वजनिक गरेर काम गरिरहनुभएको छ । जनतासँग सम्पर्क, समन्वय, सहकार्यसहित अन्तक्र्रियामा हुनुहुन्छ । वर्षात्को मौसम छ, निर्वाचन क्षेत्रमा जनताका आवाज सुन्ने, सुख दुःखमा सहभागी हुने, सरकारले गरेका निर्णय र गतिविधि प्रचारप्रसार गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । जिल्ला र निर्वाचन क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि विनियोजित बजेट कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह, समुदाय र अगुवासँग रायसुझाव लिने र सहकार्य गर्ने कार्यसमेत भइरहेको छ । उहाँहरू यही साउन १४ गते फर्केपछि त्यहाँ देखेको र जनताले भोगको विषय संसद्मा राख्नुहुनेछ ।
‘सांसद जनताको सुखदुःखको सारथी बन्न जिल्ला पुग्नुभएको छ’
वासना थापा, प्रमुख सचेतक, नेपाली कांग्रेस
अहिले वर्षात्को समय छ । मनसुनी प्रभावका कारण प्रकृतिक प्रकोपका घटना हुनसक्छ । यो बेला जनप्रतिनिधिको सर्वाेच्च थलो संसद्मा जनताका सुख–दुःखका कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउन पथ्र्याे । त्यसकारण हामीले अहिले संसद् स्थगित नगरौँ, निरन्तर चलाऔँ भनेका थियौँ । संसद् स्थगित भएपछि काठमाडौँमा बस्नुभन्दा जिल्ला नै जाऔँ भनेर केही सांसद् त्यसतर्फ जानुभएको छ । बालीनाली लगाउनुपर्ने भएकाले मेलापातमा व्यस्त नागरिकसँग भेटघाट गरी दुःखसुखको सारथी बनिरहनुभएको छ । वर्षात्को समयमा संसद् स्थगित गर्नुहुन्थेन । यो बेला हामी जनप्रतिनिधि विपद् व्यवस्थापनको पूर्वतयारीमा बस्नपथ्र्याे ।
‘विभिन्न माध्यमबाट जनतासँग जोडिरहेका छौँ’
रोशनी मेचे, सचेतक÷राष्ट्रियसभा, नेकपा (एमाले)
सदनमा सांसदको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण गर्ने काम भइरहेको छ । यही साउन ३ गते पार्टी केन्द्रीय कार्यालयमा एमालेले संसद्लाई प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षणसमेत दिएको थियो । नयाँ सांसदलाई संसदीय अभ्यासका बारेमा तालिम दिनुपर्ने भएकाले कतिपय एमाले सांसद निर्वाचन क्षेत्र जान पाएको अवस्था छैन । टेलिफोनमार्फत जनतासँग जोडिने काम निरन्तर भइरहेको छ । एमालेको सङ्गठन तल्लो तहसम्म क्रियाशील रहेको हुनाले साङ्गठनिक रूपमा जनताका बीचमा जाने काम भइरहेको छ । आवश्यकताअनुसार सांसदहरू जिल्ला जाने र काठमाडौँ फर्कनेक्रम चलिरहेको छ । संसद् नचेलेको भए पनि ‘मिनी’ संसद्का रूपमा समितिका बैठक निरन्तर भइरहेका छन् । हामी त्यसमै क्रियाशील भएर जनताको भावना उठाइरहेका छौँ ।
‘ड्युटी’मा खटिएको सिपाहीको जस्तै अवस्थामा छु
युवराज दुलाल, सचेतक, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
राजनीतिककर्मी भएको नाताले पार्टीको आन्तरिक, साङ्गठनिक काम र जनतासँगको भेटघाट चलिरहेको छ । जिल्ला जाने र काठमाडौँ आउने क्रम चलिरहेको छ । किसानसँगको भेटघाटमा रासायनिक मल र बाँदरबाट बालीनालीमा क्षति पुर्याएको समस्या मुख्य रूपमा आएको छ । गुठी र सुकुमवासी समस्याको विषय पनि उहाँहरूले निरन्तर उठाउनुभएको छ ।
सिन्धुपाल्चोक बाढी र प्राकृतिक विपद् प्रभावित भएकाले ‘ड्युटी’मा खटिएको सिपाहीझैँ कहाँ, कतिखेर के पर्छ अनि दौडिनुपर्छ भनी ‘स्टयाण्डवाइ’ मानसिकतामै बसेको छु । विपद् हुँदा तुरुन्तै जिल्ला पुग्छु । काठमाडौँमा हुने छलफल र बैठकमा भाग लिन तुरुन्तै यहाँ फर्कने गरेको छु । जनप्रतिनिधि हुनुका नाताले मतदातासँगको भेटघाट र अन्तक्र्रियालाई बाक्लो र नियमित बनाउनुपर्छ । खेतीपातीको मौसम भएकाले जनता त्यसैमा व्यस्त हुनुहुन्छ, अहिले उहाँहरूसँग भेटघाट र अन्तक्र्रिया गर्ने बेला होइन । विजनेस नभएपछि दुई साताका लागि सहमतिमा बैठक स्थगित भएको हो ।
‘बाँदरको चौकीदारी गरिरहेका किसानसँगै छु’
आरेन राई, प्रमुख सचेतक, श्रम संस्कृति पार्टी
अहिले जिल्लामै छु । अझै केही समय बस्छु । यो बेला गाउँ घुम्ने होइन, जनताका समस्या संसद्मा राख्न पथ्र्याे । विपद्मा परेका जनतालाई यथाशक्य छिटो राहत दिलाउन संसद्मै कुरा उठाउनुपर्ने थियो । त्यसैले पनि सदन बन्द गर्नुहुन्थेन । म अहिले खोटाङको सबैभन्दा विकट खोप्लाङ पुगेको छु । यहाँका बालबालिकादेखि बूढापाकासम्मका व्यक्ति बिहान रिमरिम उज्यालोमै बारीमा पुग्ने अनि साँझ बाँदर बास बसेपछि घरफर्कनुपर्ने दैनिक छ । हरेक घरका किसान बाँदरको चौकीदार बन्नुपरेको छ । संसदले बाँदर व्यवस्थापनसम्बन्धी कानुन छिटो बनाउनुपर्यो, जनतालाई दुःख दिन भएन । यस्ता जनचासोका विषयलाई सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ उठाइ दिनुपर्छ ।