गोदावरी (कैलाली), ११ असारः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश भाषा, कला, संस्कृतिमा बेग्लै पहिचान बोकेको क्षेत्र भएकाले यसलाई जोगाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिममा मौलिक लोक साहित्यका रुपमा रहेका डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता विधा भएकाले यसको जर्गेना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवद्र्धन र अनुसन्धानमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो ।
आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवद्र्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।