असार ९, २०८३ मंगलबार

युवराज विष्ट

भोजपुर, ९ असारः आफूले उत्पादन गरेको अग्र्यानिक कफीको माग अन्तरराष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिका जीवन थापा निकै उत्साहित देखिनुहुन्छ । परम्परागत खेतीपातीमा लाग्दै आउनुभएका उहाँ नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने देखेपछि केही वर्षयता कफीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

उहाँले ६५ रोपनी क्षेत्रमा कफीखेती विस्तार गर्नुभएको छ । उहाँले उत्पादन गरेको कफीको बजारको कुनै समस्या नरहेको बताउँदै स्वदेशी बजारमा मात्र होइन, विदेशमा पनि निर्यात हुन थालेको छ । उहाँ करिब एक हजार केजी कफी विदेश निर्यात गरिसकेको बताउनुहुन्छ । हाल उहाँले आफ्नै प्रशोधन उद्योगमार्फत मूल्यवर्द्धन गर्दै आउनुभएको छ । “कच्चा दाना मात्र बेच्नुभन्दा प्रशोधन गरेर बेच्दा मूल्य दोब्बर हुन्छ”, उहाँले भन्नुभयो ।

अन्य किसानहरू पनि यस कार्यक्रमप्रति उत्साहित देखिएका छन् । स्थानीय कृषक प्रितमकुमार राईले कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो । “एकपटक रोपेको कफीले वर्षौँसम्म उत्पादन दिन्छ । त्यसैले यो टिकाउ खेती हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार सुरुआती लगानी र हेरचाह आवश्यक भए पनि पछि नियमित आम्दानी लिन सकिन्छ । स्थानीयवासी सङ्गीता राईले नगरपालिकाबाट प्राप्त सहयोगले खेती गर्न सहज भएको बताउनुभयो । “बिरुवा, मल र उपकरण पाएपछि काम गर्न निकै सजिलो भएको छ”, उहाँले भन्नुभयो । उहाँले महिलाहरू पनि कफीखेतीमा सक्रिय रूपमा सहभागी हुन थालेको बताउनुभयो । जसले महिला सशक्तीकरणमा समेत योगदान पुर्याएको छ ।

गरिबी न्यूनीकरण र कृषिको व्यवसायीकरणलाई लक्ष्य बनाउँदै भोजपुरको षडानन्द नगरपालिकाले करिब रु तीन करोड लगानीमा प्राङ्गारिक कफीखेती विस्तार कार्यक्रम सुरु गरेको छ । कफीलाई आयआर्जन र रोजगारीको भरपर्दो माध्यम बनाउने उद्देश्यले नगरले बृहत रूपमा परियोजना कार्यान्वयनमा ल्याएको हो । स्थानीय स्रोतसाधनको अधिकतम् उपयोग गर्दै दीर्घकालीन आर्थिक रूपान्तरणतर्फ उन्मुख हुने रणनीतिसमेत यस कार्यक्रमले अँगालेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती विस्तार तथा व्यवसायीकरण परियोजना सञ्चालन गरेको हो । कफीखेतीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो । साथै, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’मा समेत जोड दिइएको छ ।
कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले रु एक करोड ६५ लाख बजेट विनियोजन गरेको जनाएको छ । किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको कुल आकार रु दुई करोड ८९ लाख पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिनुभयो । सार्वजनिक–निजी साझेदारीको अभ्यासलाई स्थानीय तहमा लागू गर्दै उत्पादन र बजारबीचको दूरी घटाउने प्रयास गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्ला वर्षहरूमा कफीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र षडानन्दलाई ‘कफीहब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएको जनाएको छ । यसले स्थानीय अर्थतन्त्रमा ठोस योगदान पुर्याउने नगरपालिकाको भनाइ छ ।

पहाडी भूभाग, मध्यम तापक्रम र उपयुक्त वर्षाले कफी उत्पादनका लागि अनुकूल वातावरण प्रदान गरेको छ । साथै, अन्तरराष्ट्रिय बजारमा अग्र्यानिक कफीको बढ्दो मागले यसलाई सम्भावनायुक्त नगदेबालीका रूपमा स्थापित गरेको छ । कफीका बोटहरूले माटो संरक्षण, हरियाली प्रवर्द्धन र जैविक विविधता संरक्षणमा समेत योगदान पुर्याउने भएकाले वातावरणमैत्री खेती प्रणालीका रूपमा पनि यसलाई हेरिएको छ । कार्यक्रममार्फत कफीखेतीको क्षेत्रफल विस्तार गर्नुका साथै उत्पादन वृद्धि, गुणस्तर सुधार र किसानको आयस्तर उकास्ने लक्ष्य राखिएको छ । 
परियोजनाअन्तर्गत पहिलो चरणमा १५७ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उनीहरूलाई कफीखेतीका लागि आवश्यक विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरिनेछ । पहिलो चरणमा ७५ हजार वटा कफी बिरुवा वितरण गरिनेछ भने खेतबारी व्यवस्थापन तथा जोताइका लागि पाँच अश्वशक्ति (५ एचपी) क्षमताका ११३ वटा र सात अश्वशक्ति (७ एचपी) क्षमताका ५० वटा मिनीटिलर उपलब्ध गराइने कृषि शाखा प्रमुख शिला पुन मगरले जानकारी दिनुभयो ।

त्यसैगरी, झारपात व्यवस्थापनका लागि २० वटा ब्रस कटर, विषादी तथा जैविक झोल पदार्थ छर्कन २५७ वटा स्प्रेयर वितरण गरिनेछ । यस्ता उपकरणले श्रम लागत घटाउनुका साथै उत्पादन प्रक्रिया छिटो, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कफीखेतीलाई पूर्ण रूपमा प्राङ्गारिक प्रणालीमा आधारित बनाउन नगरपालिकाले पर्याप्त मात्रामा जैविक मलसमेत उपलब्ध गराउने भएको छ । यसअन्तर्गत २२ हजार ६२० किलोग्राम गोठेमल तथा २१ हजार ३६० किलोग्राम हड्डी मल वितरण गरिनेछ । बिरुवाको संरक्षण तथा रोग व्यवस्थापनका लागि ८६ लिटर खनिज तेल, १०० लिटर बोर्डो पेस्ट र ३३ लिटर इएम (इफेक्टिभ माइक्रोअर्गानिज्म) उपलब्ध गराइनेछ । साथै, बगैँचा व्यवस्थापनका लागि १६ वटा सिकेचरसमेत वितरण गरिने जनाइएको छ । प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति जोगाइराख्ने र दीर्घकालीन उत्पादन सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अग्र्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको षडानन्द नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । “हामीले बृहत् रूपमा कफीखेती विस्तार कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ । त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ।”

नगर उपप्रमुख प्रमिला राईका अनुसार षडानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफीखेतीका लागि अत्यन्त उपयुक्त छन् । यस कार्यक्रमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ । कृषिमा युवाको आकर्षण बढ्दै जाँदा उत्पादनशील जनशक्ति गाउँमै कायम रहने विश्वास गरिएको छ । नगरपालिकाले सामग्री वितरणमा मात्र सीमित नरही किसानको ज्ञान, सीप र क्षमताको विकासमा पनि जोड दिएको छ । परियोजनाअन्तर्गत कफीखेतीसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ । तालिममा बिरुवा रोप्ने विधि, छायाँ व्यवस्थापन, मल व्यवस्थापन, सिँचाइ प्रणाली, रोग तथा कीरा नियन्त्रण, फल टिपाइ र पोस्ट–हार्भेस्ट व्यवस्थापनलगायत विषय समेटिने छन् । वैज्ञानिक तरिकाबाट खेती गर्दा उत्पादनमात्र होइन, गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूका अनुसार कफीखेती दीर्घकालीन नगदे बाली हो, जसले एकपटक रोपिसकेपछि २०–२५ वर्षसम्म उत्पादन दिनसक्छ । उचित व्यवस्थापन गरेमा प्रतिरोपनी राम्रो आम्दानी लिन सकिने भएकाले यसलाई आर्थिक दृष्टिले आकर्षक बालीका रूपमा लिइन्छ । साथै, छायाँदार रूखहरूसँग अन्तरबाली प्रणाली अपनाउँदा थप आम्दानी लिन सकिने सम्भावना रहेको छ । कफीखेतीका लागि समुद्री सतहबाट ८०० मिटरदेखि एक हजार ८०० मिटरसम्मको क्षेत्र उपयुक्त मानिन्छ । षडानन्दका १४ वडामध्ये १३ वडामा कफीखेती विस्तार भइरहेको छ । यसले समग्र नगरलाई कफी उत्पादन क्षेत्रका रूपमा चिनाउने आधार तयार गरेको छ । भूआकृतिक विविधताले फरकफरक स्वादका कफी उत्पादन गर्न सकिने सम्भावनासमेत रहेको कृषि प्राविधिकहरू बताउँछन् ।

गुणस्तरीय बिरुवाको उपलब्धता सुनिश्चित गर्न दुईवटा नर्सरी सञ्चालन गरिनेछ भने उत्पादनपछिको व्यवस्थापनका लागि पोस्ट–हार्भेस्ट कार्यक्रमसमेत सञ्चालन गरिनेछ । कफी टिपाइ, प्रशोधन, सुकाउने, भण्डारण र बजारीकरण प्रक्रियामा सुधार ल्याई मूल्य शृङ्खला मजबुत बनाउने लक्ष्य रहेको छ । गुणस्तरीय प्रशोधनले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक मूल्य पाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

यसैबीच, कफीलाई पर्यटनसँग जोडेर ‘एग्रो–टुरिज्म’ को रूपमा विकास गर्न सकिने सम्भावना पनि रहेको छ । कफी बगैँचा अवलोकन, स्थानीय उत्पादनको स्वाद, होमस्टे र सांस्कृतिक अनुभवसँग जोडेर थप आम्दानी लिन सकिने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । यसले स्थानीय अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान बनाउन सहयोग पुर्याउन सक्छ । कफीखेतीप्रति विदेशबाट फर्किएका युवाहरू बढी आकर्षित भएका छन् । स्थानीय कृषक मुक्ति राईका अनुसार मिहिनेत र धैर्यका साथ लागेमा कफीबाट राम्रो आम्दानी लिन सकिन्छ । “विदेश जानुभन्दा गाउँमै केही गर्ने सोच बढेको छ”, उहाँले भन्नुभयो, “युवाको सहभागिताले कृषि क्षेत्रमा नयाँ प्रविधि र नवप्रवर्तन भित्र्याउने सम्भावना बढेको छ ।”

षडानन्द नगरपालिकाको कफीखेती विस्तार कार्यक्रम केवल कृषि उत्पादन बढाउने प्रयासमात्र नभई आर्थिक रूपान्तरण, रोजगारी सृजना, आय वृद्धि र ग्रामीण विकासको एकीकृत अभियानका रूपमा अगाडि बढाएको छ । समयमै प्राविधिक सेवा नपुग्नु, बजार मूल्यमा उतारचढाव, प्रशोधन प्रविधिको अभाव, सडक तथा ढुवानी पहुँचको समस्या र जलवायु परिवर्तनका प्रभावजस्ता कफीखेती विस्तारमा रहेका समस्या समाधान गर्नसके कफीखेती अझ प्रभावकारी र दिगो बन्ने कृषि विज्ञहरूको सुझाव छ । प्रभावकारी कार्यान्वयन, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापन सुदृढ गर्नसके निकट भविष्यमा षडानन्द नगरपालिका देशकै प्रमुख कफी उत्पादन केन्द्रका रूपमा स्थापित हुने प्रबल सम्भावना देखिन्छ ।