असार ९, २०८३ मंगलबार

त्रिवेणी (नवलपरासी), ९ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको सङ्ख्या २२ हजार ३२१ पुगेको छ । 

राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले गत वैशाख २ गतेदेखि यही असार ७ गतेसम्म सञ्चालन गरेको तथ्याङ्क सङ्कलनका क्रममा जिल्लाभरि २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना गरिएको कार्यालयका सहायक आर्थिक गणना अधिकारी  रुद्र अधिकारीले बताउनुभयो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले नवलपुरका लागि २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । प्रदान गरिएको लक्ष्यभन्दा धेरै आर्थिक प्रष्ठिान गणना गरिएको सहकाय आर्थिक गणना अधिकारी अधिकारीले बताउनुभयो ।  

गणनाको क्रममा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुराँ, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिएको छ । 

प्राप्त तथ्याङ्कअनुसार कावासोती नगरपालिकामा सबैभन्दा बढी छ हजार ६२८ प्रतिष्ठान गणना भएका छन् । त्यसपछि गैँडाकोट नगरपालिकामा चार हजार ८२२, देवचुली नगरपालिकामा तीन हजार ६२१, मध्यविन्दु नगरपालिकामा तीन हजार एक, विनयी त्रिवेणी गाउँपालिकामा एक हजार ७७९, हुप्सेकोट गाउँपालिकामा एक हजार १६६, बौदीकाली गाउँपालिकामा ७८९ र बुलिङटार गाउँपालिकामा ५१५ प्रतिष्ठानको गणना सम्पन्न भएको छ ।

आर्थिक गणनाको तथ्याङ्कले नवलपुरमा व्यवसायिक प्रतिष्ठानहरूको सङ्ख्या निरन्तर बढिरहेको देखाएको छ । विसं २०७५ मा सञ्चालन गरिएको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेका थिए । यसले यो अवधिमा जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तार भएको देखाएको छ ।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका सहरी तथा अर्धसहरी क्षेत्रमा व्यापारिक प्रतिष्ठान, होटल तथा पर्यटन व्यवसाय, निर्माण सामग्री, वित्तीय सेवा र अन्य व्यावसायिक गतिविधि बढ्दै गएका कारण प्रतिष्ठानको सङ्ख्या वृद्धि भएको देखिएको अधिकारीले बताउनुभयो ।  जिल्लामा बसाइँसराइ, सहरीकरण तथा पूर्वाधार विकासले समेत आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण सङ्कलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताउनुभयो ।

गणकहरुले फिल्डमा गणना गर्ने कार्य सकिएको र प्रारम्भिक रुपमा जिल्ला भरिको तथ्याङ्क आएको उहाँले बताउनुभयो । तथ्याङ्कहरुको रुजु गर्ने काम यतिबेला चलिरहेको उहाँको भनाई छ । असार अन्तिम साताभित्र गणनाका सबै कार्य सम्पन्न गरी अन्तिम विवरण सार्वजनिक गरिने सहायक गणना अधिकारीले बताउनुभयो । बिवरणमा  खासै ठूलो केही फेरबदल नहुने उहाँको भनाइ छ ।  “हामीले फिल्डको काम सकेका छौँ, अहिले प्राप्त भएको तथ्याङ्को रुजु गर्ने काम चलिरहेको छ, बाँकी काम असारको अन्तिम साताभित्र सक्ने छौँ”, उहाँले भन्नुभयो ।