असार ७, २०८३ आइतबार

गोरखा, ७ असारः बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो ।
    योग शिविरमा सहभागीलाई विविध योगासन, प्राणयाम, ध्यान तथा योगबारे जीवनोपयोगी जानकारीसहित योगाभ्यास गराइएको योगगुरु अशोक शर्मा भट्टले जानकारी दिनुभयो । “योग शारीरिक अभ्यास मात्र नभएर आत्माबोध तथा आत्माशुद्धिको समग्र कल्याणतर्फउन्मुख कार्य पनि हो, यसबाट तनाव, असन्तुलन र मानसिक अशान्तिलाई कम गर्न योगाभ्यास अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।
    
    सोही अवसरमा सहभागीहरुलाई योगाभ्यासको मार्गदर्शन र व्यक्तिगत जीवनमा सकारात्मक सुधारका उपायबारेमा अभिमुखीकरण प्रदान गरिएको भट्टको भनाइ छ ।
    
    गोरखा गुरु गोरखनाथको तपोभूमि पनि भएको र गोरखकालीको पवित्रस्थलमा गरिने योगाभ्यासको विशेष महत्व रहेको भट्टले बताउनुभयो । शिविरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, स्थानीय नागरिक, जनप्रतिनिधिलगायतको सहभागिता रहेको जिल्ला समन्वय समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले बताउनुभयो ।
    
    गोरखनाथ कल्याण केन्द्रको समन्वयमा आयोजित निःशुल्क शिविर नेपाल नेचुरल साउण्ड हिलिङ इन्टरनेसनको सहआयोजनामा सम्पन्न भएको हो । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।
    
    शिविरमा योग गुरु अशोक शर्मा भट्ट, प्रशिक्षक एलिस बन्जरा, मनोज दुवाडी, रुपेश श्रेष्ठ, कृष्ण शरण, अच्युत कृष्णलगायतले प्रशिक्षण प्रदान गर्नुभएको हो ।