ढोरपाटन (बागलुङ), ४ असारः सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ ।
उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो ।
पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर दीपेश रिगलले जानकारी दिनुभयो ।
विसं २०८० कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त पुल एक महिनाअघि सम्पन्न भएपछि सञ्चालनमा आएको इन्जिनियर रिगल बताउनुहुन्छ ।
पुल सञ्चालनमा आएसँगै काठेखोला गाउँपालिका–२ भिमपोखरा, वडा नम्बर ३ धम्जा, वडा नम्बर ४ तङ्ग्राम, म्याग्दीको भम्किले र ताराखोला गाउँपालिका सल्ने सवारीसाधन बाह्रै महिना सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।
त्यहाँ पक्की पुल नहँुदा बर्खाको चार महिना जिल्ला सदरमुकाम बागलुङ आउजाउन गर्न निकै समस्या थियो । उपाध्यक्ष थापाले भन्नुभयो, “यो एउटा पुल हजारौँ नागरिकको यात्रालाई सहज बनाइ दिएको छ, जब बर्खा लाग्थ्यो, तब सडकनै ठप्प हुन्थ्यो, अहिले त्यो समस्या समाधान भएको छ, अब बाह्रै महिना सवारीसाधन चल्ने छन् ।”
बर्खामा सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारी र फलफूल बजार पठाउन मात्र नभई स्थानीयलाई यात्रा गर्न र सामान ढुवानीमा पनि उस्तै कठिनाइ थियो ।