असार ३, २०८३ बुधबार

काठमाडौँ, ३ असारः प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गर्नुभएको छ ।

बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिनुभएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गर्नुभयो ।

उहाँले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राख्नुभयो । उहाँले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी  प्रश्न गर्नुभयो । सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभयो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताउनुभयो ।