सुरुङ्गा (झापा), ३० जेठः झापाको विर्तामोड नगरपालिकाको आयोजनामा ‘विर्तामोड रोजगार मेला’ आजदेखि सुरु भएको छ । स्थानीय तहमा उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराउने, रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा सीपयुक्त जनशक्तिलाई उपयुक्त क्षेत्रमा आबद्ध गराउने उद्देश्यसहित मेलाको आयोजना गरिएको हो ।
विर्तामोडस्थित अतिथि सदनमा सुरु भएको दुईदिने मेलाको आज विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं र विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । समारोहमा रोजगार सिर्जना र स्वरोजगार प्रवर्द्धनका लागि स्थानीय तह, निजी क्षेत्र र सरोकार भएका विभिन्न संस्थाबीच सहकार्य आवश्यक रहेकामा जोड दिइएको थियो ।
कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं २ का वडाध्यक्ष किशोर पौडेल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा रोजगारी खोजिरहेका युवायुवतीको सहभागिता थियो । मेलामा विभिन्न क्षेत्रका रोजगारदाताले आफ्ना कक्ष (स्टल) मार्फत उपलब्ध रोजगारी, आवश्यक योग्यता, सीप विकासका अवसर तथा संस्थागत गतिविधिबारे जानकारी प्रदान गरिरहेका छन् ।
रोजगारदाताका स्टलमा सहभागीहरूले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव र रुचीअनुसार रोजगारीका सम्भावनाबारे जानकारी लिने तथा आवश्यक परे आवेदनसमेत दिनसक्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । मेलाले स्थानीयस्तरमा उपलब्ध अवसरबारे जानकारी अभावका कारण बेरोजगार रहनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मेलामा रोजगारसम्बन्धी सेवामूलक कक्षहरू पनि सञ्चालनमा छन् । रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षमार्फत सहभागीलाई आवश्यक जानकारी तथा सहजीकरण प्रदान गरिएको छ । मेलामा आउने सेवाग्राहीलाई रोजगारीका अवसर, सीप विकाससम्बन्धी कार्यक्रम र रोजगारसम्बन्धी सरकारी सेवाबारे जानकारी दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आजै उद्योगी, व्यवसायी र सरोकार भएका निकायका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ । अन्तरक्रियामा स्थानीय श्रम बजारको अवस्था, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्रका आवश्यकता तथा स्थानीय तहको भूमिकाबारे छलफल गरिएको नगरपालिकाका प्रवक्ता पाण्डेले बताउनुभयो ।
सहभागीहरूले सीपमूलक तालिमलाई बजारको मागसँग जोड्नुपर्ने, युवा जनशक्तिलाई स्वदेशमा रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने तथा रोजगार प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन् ।
विर्तामोड उद्योग वाणिज्य सङ्घको सहकार्यमा सञ्चालन भएको रोजगार मेलाले स्थानीय तहमा रोजगारसम्बन्धी सूचना प्रवाह, निजी क्षेत्रसँगको समन्वय र बेरोजगार युवालाई अवसरसँग जोड्ने माध्यमका रूपमा काम गर्ने विश्वास गरिएको छ ।