जेठ २९, २०८३ शुक्रबार

नरेन्द्रसिंह कार्की

दार्चुला, २९ जेठः नौगाड गाउँपालिका–२ दल्लेखको डाँडामाथि बिहानको घाम झुल्किन थालेसँगै तल खार बस्तीका कान्लामा बनेका पोलिहाउसहरू सेताम्य देखिन्छन् । कतै गोलभेँडा लटरम्म फलेका छन्, कतै आलुको हरियाली फैलिएको छ । किसानहरू बिहानैदेखि पानी हाल्ने, पोलिहाउस मिलाउने र बाली स्याहार्ने काममा व्यस्त छन् तर यही हरियालीभित्र किसानका अनगिन्ती पीडा लुकेका छन् । उत्पादन बढेको छ, मेहनत बढेको छ, तर बजार अझै अनिश्चित छ । सडक भरपर्दो छैन । मूल्य व्यापारीकै नियन्त्रणमा सीमित छ ।

नौगाड गाउँपालिका–२ की सरस्वती डोबाल मन्यालले गत वर्ष यही याममा गोलभेँडा र आलु बिक्री गरेर रु सात लाख आम्दानी गर्नुभयो । दल्लेखबाट सदरमुकाम खलङ्गासम्म पुगेर उहाँले आफ्नै खेतमा फलेको तरकारी बिक्री गर्नुभयो । तर आम्दानीसँगै सङ्घर्ष पनि उत्तिकै बढेको उहाँ बताउनुहुन्छ । “एकैपटक आठ–दस क्रेट गोलभेँडा पाक्छ”, उहाँ भन्नुहुन्छ, “तर बजारमा लगेपछि एकै ठाउँमा बिक्री हुँदैन । व्यापारी खोज्दै हिँड्नुपर्छ । कहिलेकाहीँ त घरघर पुगेर बेच्नुपर्छ ।” पूरै दिनभर गोलभेँडा बेच्नैमा जाँदा फेरि घरमा पोलिहाउस रेखदेख गर्न समस्या हुन्छ । एक जनाले मात्रै पूरै तरकारी उत्पादन, सुरक्षादेखि बजार खोज्दै हिँड्न जाँदा निकै समस्या खेप्नुपरेको उहाँको भनाइ छ ।

खार–खलङ्गा सडक वर्षायाममा प्रायः अवरुद्ध हुन्छ । सडक कालोपत्रे नभएकाले पानी पर्नेबित्तिकै पहिरो खस्ने, नाली नहुँदा बाढीले सडक बगाउने र खाल्टाखुल्टी बढ्ने समस्या छ । महाकाली नगरपालिका २ र ३ अन्तर्गत पर्ने यो सडकखण्ड ठाउँठाउँमा बिग्रिएको छ । पहिरो गएको ठाउँमा अझै पर्खाल बनेका छैनन् । डुङुरीलगायतका क्षेत्रमा अहिले पनि खोलामै गाडी गुडाउनुपर्ने बाध्यता छ । 

सडक अवरुद्ध हुँदा किसानले पिठ्युँमै तरकारी बोकेर तीन–चार घण्टा हिँडेर खलङ्गा पुग्नुपर्छ । “पानी पर्नेबित्तिकै सडक बन्द हुन्छ”, सरस्वती भन्नुहुन्छ, “पाकेको गोलभेँडा खेतमै सड्छ । लगानी डुब्छ ।” तरकारीखेती नै उहाँको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । छोरा मिलन मन्याल र छोरी सोनिया मन्यालको पढाइ खर्च यही खेतीले धानेको छ । “बच्चालाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सपना छ”, उहाँ भावुक हुँदै भन्नुहुन्छ, “तर बजार र मूल्य नपाउँदा कहिलेकाहीँ निकै निरास हुन्छु ।” श्रीमान् माधव मन्याल रोजगारीको खोजीमा काठमाडौँ गएका छन् । घरको आर्थिक जिम्मेवारी अहिले खेतीमै टिकेको छ ।

यो वर्ष परेको असिनाले पोलिहाउसमा ठूलो क्षति पु¥याएको सम्झिँदा सरस्वती अझै भावुक बन्नुहुन्छ । केही मिनेटमै मेहनतले हुर्काएका बोटहरू नष्ट हुँदा आफू खेतमै रोएको उहाँ सुनाउनुहुन्छ । खारकै अर्का किसान नारा मन्यालको पीडा पनि उस्तै छ । मेहनत गरेर उत्पादन गरिएको अर्गानिक गोलभेँडा कहिलेकाहीँ प्रतिकिलो ५० रुपैयाँमा पनि बिक्री हुँदैन । “गत वर्ष ५० देखि ८० रुपैयाँसम्म बिक्री भयो”, उहाँ भन्नुहुन्छ, “तर नियमित बजार पाउँदैनौँ । गाउँभरि एकैपटक गोलभेँडा पाक्दा व्यापारीले मूल्य घटाइदिन्छन् ।”

खलङ्गा जिल्लाकै मुख्य बजार भए पनि व्यापारीले किसानको उत्पादन एकमुष्ट खरिद गर्दैनन् । किसान आफैँ व्यापारी खोज्दै हिँड्न बाध्य छन् । अहिले भारतीय तरकारी आउन कम भएपछि व्यापारीको फोन आउन थालेको किसानहरू बताउँछन् । हामीलाई तरकारी तौल गर्न पनि आउँदैनन् । बजारमा महिलाहरू बढी जाने भएकाले उनीहरू ठगिने समस्या पनि झेलिरहेका छन् । “केजी तौलमै धेरैपटक ठगियौँ”, किसान सरस्वती मन्याल सुनाउनुहुन्छ, “एकपटक त प्रशासन गुहार्नुपरेको थियो ।” उहाँका अनुसार किसानले एउटै केन्द्रबाट बिक्री गर्ने व्यवस्था भए बजार व्यवस्थापन सहज हुने थियो ।

डाँडाबाग कृषि समूहका अध्यक्ष धनसिंह सितोलीका अनुसार समूहले मात्रै प्रत्येक वर्ष ५० देखि ६० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्छ । आलुको उत्पादन पनि उल्लेख्य छ । “हाम्रो मुख्य समस्या बजार र सडक हो”, उहाँ भन्नुहुन्छ, “उत्पादन भइरहेको छ, तर किसानले उचित मूल्य पाउँदैनन् ।”

उहाँका अनुसार जलवायु परिवर्तनले तरकारीखेतीलाई समस्या सिर्जना गरेको छ । असिना, अत्यधिक वर्षा, हावाहुरी र नयाँ रोगव्याधिका कारण तरकारी उत्पादनमा ह्रास देखिने गरेको छ । “यो वर्ष बेर्नादेखि नै समस्या देखियो”, उहाँ भन्नुहुन्छ, “पाक्ने बेलामा पनि रोग लागेको छ । धेरैपटक बीउ परिवर्तन ग¥यौँ, खासै सुधार भएन ।” रेखदेख औषधि गरेकै छौँ । समय समयमा बेर्ना परिवर्तन गरिएको छ । कहिले रोगले सताउँछ, कहिले मौसमले, उहाँले दुःखेसो सुनाउनुभयो ।

खार क्षेत्रमा कोल्ड स्टोर नहुँदा किसानले उत्पादन लामो समयसम्म जोगाएर राख्न सक्दैनन् । सबै किसानले एकैपटक बजारमा तरकारी ल्याउँदा मूल्य झन घट्ने गरेको छ । किसानका अनुसार यहाँ उत्पादन हुने तरकारी पूर्णरूपमा जैविक र विषादीरहित छ । एउटा बोटमै पाँचदेखि १० किलोसम्म गोलभेँडा फल्ने गरेको उनीहरू बताउँछन् । सामान्य किसानले सिजनमा पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । डाँडाबाग कृषि समूहमा २५ भन्दा बढी परिवार आबद्ध छन् ।

तरकारी पकेट क्षेत्र बन्दै खार

नौगाड गाउँपालिकाले खार क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । यहाँ अधिकांश घरमा पाँचदेखि सातवटासम्म पोलिहाउस छन् । किसानले परम्परागत खेती छोड्दै तरकारी मात्रै लगाउन थालेका छन् । नौगाड गाउँपालिका कृषि शाखा प्रमुख प्रकाशसिंह धामीका अनुसार हाल वडा नम्बर २ मा मात्रै १५० भन्दा बढी पोलिहाउसमा व्यावसायिक तरकारी उत्पादन भइरहेको छ । “आगामी आवमा एक किसानलाई १० वटासम्म पोलिहाउस विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले सिँचाइ, बीउ, औषधि तथा क्षतिपूर्तिसम्बन्धी कार्यक्रम आगामी बजेटमार्फत ल्याउने जनाएको छ । रोग व्यवस्थापनका लागि कृषि प्राविधिक परिचालन गरिएको छ । योपटक थोरै किसानको तरकारीमा समस्या देखिएको छ । रोग लाग्न नदिन एकीकृत शत्रु व्यवस्थापन गरिएको धामीले बताउनुभयो । यो पूरै वडा तरकारी पकेट क्षेत्र हो । २५ देखि ३० परिवारलाई एउटा समूहमा राखेर तरकारी लगाउनेदेखि लिएर बीउ विजन बजारीकरणसम्मको तालिम कृषक पाठशालामार्फत भइरहेको छ । यहाँका केही वडालाई आलुपकेट क्षेत्र घोषणा गरिएको छ । सडक सञ्जालले पनि गाउँपालिका जोड्दै गरेको अवस्थामा किसानलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको रहेको धामीको भनाइ छ ।
 
किसानको बारीमै पुगे सिडियो

नौगाड–२ दल्लेखका किसानका समस्या बुझ्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल स्वयं किसानको बारीमै पुगे । उहाँसँग कृषि तथा भेटेरिनरी कार्यालयका प्रमुख, प्राविधिक टोली तथा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपलगायत सहभागी थिए । “किसानको समस्या सुन्ने र समाधान के गर्न सकिन्छ भनेर जिल्लास्तरीय अनुगमन समिति बनाएर दल्लेख पुगेका हौं,” प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “हामीले बोल्ने भन्दा पनि किसानको वास्तविक समस्या के छन्, त्यो पहिचान गरेर समस्या समाधानको लागि प्रयास गर्ने हो ।” 
    
किसानहरूले सडक, बजार, सिँचाइ, बीउ र औषधि व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । “कालोपत्रे सडक भइदिएको भए आधा घण्टामै खलङ्गा पुग्थ्यौँ”, समूहका अध्यक्ष धनसिह सितोली भन्नुहुन्छ, “बजारले चाहेको बेला अर्गानिक तरकारी पु¥याउन सक्थ्यौँ ।” अर्का किसान सरस्वती मन्याल तरकारी ढुवानीमा अनुदान दिनुपर्ने माग गर्नुहुन्छ । उहाँले भन्नुभयो, “दल्लेखबाट खलङ्गासम्म एक क्रेट गोलभेंडाको गाडी भाडा एक सय रुपैयाँ लिन्छन् । 

मानिससँगै गए थप चार सय रुपैयाँ भाडा हुन्छ । सरकारले नै ढुवानी बिक्रीको व्यवस्थापन गरिदिए हामीहरुले पनि मेहनतअनुसारको मूल्य गाउँमै पाउँथ्यौँ ।” प्रमुख जिल्ला अधिकारी पौडेलले सडक नियमित सञ्चालनका लागि पहल भइरहेको बताउनुभएको छ । सम्बन्धित निकायलाई नियमित सडक सञ्चालनको लागि प्रयास भइरहेको छ । 

भारतीय तरकारीमा रोक, स्थानीय किसानमा आशा

नेपाल सरकारले भारतबाट आयात हुने कृषिउपजमा रोक लगाएपछि स्थानीय किसानमा आशा पलाएको छ । सीमावर्ती जिल्ला दार्चुलाको बजार लामो समयदेखि भारतीय आलु, प्याज र गोलभेंडामा निर्भर थियो । अहिले भने स्थानीय उत्पादनले बजार पाउन थालेको किसानहरूको भनाइ छ ।

सरकारले जेठ २१ गतेबाट भारतबाट आयात हुने कृषिजन्य उपहरुको आयात व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै आयातमा रोक लगाएको छ । “कोरोनाको समयमा पनि हामीले उत्पादन गरेर बजार धानेका थियौँ”, डाँडाबाग कृषि समूहका अध्यक्ष धनसिंह सितोली भन्नुहुन्छ, “सरकारले खरिद सुनिश्चित गरिदियो भने भारतीय तरकारीको विकल्प हामी बन्न सक्छौँ ।” यहाँ उत्पादन गरेका आलु, टमाटार बजारको लागि पर्याप्त हुन्छ । दार्चुलाको श्रीवगड, कोटकौतली, मुल्ला मैखाली, दत्तुको थाप्लालगायतमा किसानहरुले व्यावसायिक रुपमा तरकारीखेती गर्ने गरेका छन् । यसअघि किसानले नेपालमा बजार नपाउँदा भारतीय बजार लगेर आफ्नो उत्पादन विक्री गर्दै आएका थिए । 
–––