बलेवा (बागलुङ), २७ जेठः बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ ।
सिरुबारीको गैराबारी खेतमा उहाँको करिब सातमुरी मकै फल्ने जमिन छ । उक्त जमिनमा लगाएको मकै जोगाउन उहाँ बाँदरको चौकीदारी गर्नुहुन्छ । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ ।
बाँदरको आतङ्कले खेतबारीमा लगाएको मकै जोगाउन उहाँ चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आउनुभएको छ । उहाँ हरेक बिहान ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्नुहुन्छ ।
“बाँदर आयो भने मलाइँ टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन”, लक्ष्मीदत्तले भन्नुभयो, “बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।”
सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् ।
जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउनुहुन्छ ।
---