जेठ २७, २०८३ बुधबार

काठमाडौँ, २७ जेठः कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । 

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । 

“सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो,“वर्गीकरणपश्चात परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ ।”

देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।