जेठ १३, २०८३ बुधबार

बुगेनहाउट, (बेल्जियम), १३ जेठ: बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबीच भएको भीषण ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर रूपमा घाइते भएका छन् ।

    ब्रसेल्सबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको उक्त क्षेत्रमा व्यस्त बिहानको समयमा भएको दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । प्रारम्भिक विवरणअनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो ।

    इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयकी प्रवक्ता लिसा डे वाइल्डका अनुसार बस चालक, १२ र १५ वर्ष उमेरका दुई बालबालिका तथा एक एस्कर्टको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य बालबालिकालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

    अधिकारिहरूका अनुसार दुर्घटनाको वास्तविक कारण अझै स्पष्ट हुन बाँकी छ । तर प्रवक्ता डे वाइल्डले प्रारम्भिक जानकारी उद्धृत गर्दै क्रसिङको अवरोध बन्द अवस्थामा रहेको र रातो बत्ती बलिरहेको अवस्थामा पनि मिनीबस अघि बढेको देखिएको बताउनुभयो ।

    सङ्घीय प्रहरी प्रवक्ता एन बर्जरका अनुसार मिनीबस चालकले क्रसिङको अवरोध पार गरेको देखिन्छ । यता रेल सञ्चालन निकाय इन्फ्राबेलले क्रसिङ प्रणाली ठीक रूपमा काम गरिरहेको स्पष्ट पारेको छ ।

    इन्फ्राबेलका प्रवक्ता फ्रेडरिक स्याक्रेले रेल करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको र ठक्कर टार्न पर्याप्त समय नभएको बताउनुभयो । उहाँका अनुसार ‘प्रभाव अत्यन्तै हिंसक’ थियो ।

    घटनास्थलमा उपस्थित एक एएफपी पत्रकारका अनुसार मिनीबस पल्टिएको अवस्थामा भेटिएको थियो र यसको अगाडिको भाग पूर्ण रूपमा कुचिएको थियो । रेल भने अपेक्षाकृत सुरक्षित अवस्थामा रहेको बताइएको छ ।

    रेलमा करिब १०० यात्रु सवार रहेको भए पनि कुनै पनि यात्रु घाइते नभएको प्रारम्भिक जानकारीमा उल्लेख छ । दुर्घटनापछि उक्त क्षेत्रमा रेल सेवा केही समयका लागि अवरुद्ध गरिएको थियो ।

    स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलनपछि एक मिनेट मौन धारण गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बुगेनहाउटमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै सबैको विचार उनीहरूसँग रहेको उल्लेख गर्नुभयो ।

    दुर्घटनास्थल नजिकै रहेको विद्यालय क्षेत्रमा त्यस समयमा बालबालिकाहरू बास्केटबल खेल्दै र साइकल चलाउँदै रहेको दृश्यले घटनाको संवेदनशीलता अझ बढाएको स्थानीयले बताएका छन् ।