जेठ १३, २०८३ बुधबार

बेइजिङ, १३ जेठ  ः चिनियाँ अनुसन्धानकर्ताहरूको एक टोलीले सौर्य सेलको कार्यक्षमता र सञ्चालन स्थायित्व दुवै उल्लेखनीय रूपमा सुधार गर्ने नयाँ संरक्षण रणनीति विकास गरेको छ । यो सम्बन्धी अनुसन्धान हालै एक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ ।

यस प्रकारको सौर्य सेलमा माथिल्लो भागमा विशेष प्रकाश रूपान्तरण तह र तल्लो भागमा सिलिकन आधारित तह प्रयोग गरिन्छ । यस्तो संरचनाले सूर्यको प्रकाशलाई उच्च दक्षताका साथ विद्युत्मा रूपान्तरण गर्न मद्दत गर्छ, जसले हल्का तथा उच्च–क्षमतायुक्त सौर्य प्रविधिको सम्भावना बढाएको छ ।
तर औद्योगिक सिलिकन सतहको पिरामिड–जस्तो बनावटका कारण माथिल्लो तह समान रूपमा राख्न कठिन हुने समस्या थियो । यसले स्थानीय विद्युतीय चुहावट निम्त्याएर व्यावसायिक प्रयोगमा चुनौती सिर्जना गर्दै आएको थियो ।

चिनियाँ अनुसन्धानकर्ताहरूले पूर्वी चीनका दुई विश्वविद्यालयसँगको सहकार्यमा ‘चुचुरो–केन्द्रित संरक्षण’ नामक नयाँ रणनीति विकास गरेका हुन् ।
उहाँहरूले सूक्ष्म कणलाई नमूनाको रूपमा प्रयोग गरी पिरामिडको चुचुरो भागमा एल्युमिनियम अक्साइडको अत्यन्त पातलो अवरोधक तह राख्ने विधि अपनाए, जसले विद्युतीय चुहावट रोक्न मद्दत गर्छ ।
यस प्रविधिबाट तयार गरिएको सौर्य सेलले करिब ३३ प्रतिशत ऊर्जा रूपान्तरण दक्षता हासिल गरेको छ, जुन करिब एक वर्ग सेन्टिमिटर सक्रिय क्षेत्रफल भएको सौर्य सेलमा प्राप्त गरिएको हो ।
त्यसैगरी, उक्त उपकरणले लगातार एक हजार घण्टा सञ्चालनपछि पनि आफ्नो प्रारम्भिक कार्यक्षमताको करिब ९० प्रतिशत कायम राखेको अनुसन्धानले देखाएको छ, जसले यसको दीर्घकालीन स्थायित्व पनि प्रमाणित गरेको छ ।

अध्ययनका एक सह–लेखकका अनुसार, “यो रणनीति सरल छ र हालका औद्योगिक उत्पादन प्रणालीसँग सजिलै मिल्न सक्छ । यसले नयाँ प्रकारका सौर्य सेललाई व्यावसायिक प्रयोगतर्फ अझ नजिक पु¥याएको छ ।”