नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १२ जेठः रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेभएको छ ।
सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो पालिकामा पर्याप्त मात्रामा उत्पादन हुने सुन्तला रङको गुणस्तरीय सखरखण्ड गाउँमै खपत गर्ने उद्देश्यले दिवा खाजामा समावेश गर्न अनुरोध गरेको विद्यालयले स्पष्ट गरेको छ ।
स्थानीय किसानले उत्पादन गरेको सखरखण्ड विद्यार्थीको दिवा खाजामा समावेश गर्न गाउँपालिकाले नीति ल्याएको हो । गाउँपालिका अध्यक्ष नवराज ढकालका अनुसार पौष्टिकतत्वले भरिपूर्ण तथा भिटामिन ‘ए’ प्रसस्त पाउने सखरखण्डले विद्यार्थीको स्वास्थ्य, वृद्धि विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पार्न सक्ने भनी दिवा खाजामा राख्न लागिएको हो ।
“गाउँपालिकामा रहेका १९ सामुदायिक विद्यालयको दिवा खाजामार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सखरखण्ड खुवाउने कार्यक्रम अगाडि बढाएका हौँ”, उहाँले भन्नुभयो ।
सुरुमा गाउँपालिकाभित्रका धेरै जग्गामा खेती गर्ने सात जना किसानलाई बाहिरबाट बीउ मगाएर खेति गर्न प्रोत्साहित गरिएको थियो । विद्यार्थीको दिवा खाजामा यो परिकार समावेश गर्ने विषयमा संस्थागत विद्यालयका प्रधानध्यापक तथा सञ्चालकहरुसँग पहिलो चरणको छलफल भएको अध्यक्ष ढकालले बताउनुभयो ।
दिवा खाजा कार्यक्रमअन्तर्गत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि प्रत्यक्ष लाभ पुग्ने ढकालले बताउनुभयो । “यसको बजारीकरण भयो भने किसानको आम्दानीको स्रोत बन्छ”, उहाँले भन्नुभयो, “अहिले सात जना किसानसँगै महिला समूह र महिला स्वयंसेविकाहरुलाई पनि यसको खेती गर्न बीउ उपलब्ध गराइएको छ ।”
विद्यालयको दिवा खाजामा स्थानीय उत्पादनलाई समावेश गर्नु दिगो पोषण व्यवस्थापनका लागि महत्वपूर्ण कदम हो । यसले बालबालिकामा अस्वस्थकर तथा हानिकारक खानाको निर्भरता घटाउन मद्दत गर्ने कञ्चन गाउँपालिका हरैया मावि विद्यालयका दिवा खाजा कार्यक्रम हेर्ने शिक्षक भरत शर्मा बताउनुहुन्छ ।
“अहिलेसम्म विद्यालयमा खिर, हलुवा, समोसालगायतका खाद्यपरिकार दिवा खाजामा राखिएको थियो । अबदेखि दिवा खाजा परिकारमा सुन्तला रङको सखरखण्ड मिसाएर खुवाउन सकिन्छ”, उहाँले भन्नुभयो । परियोजना संयोजक भीमा पराजुलीका अनुसार ‘हेलेन केलर’ संस्थाको प्राविधिक सहयोगमा सुरु गरिएको सुन्तला रङको सखरखण्ड बङ्गलादेशबाट मगाएर नेपालमा खेति गर्न थालिएको हो ।
उहाँले कञ्चन गाउँपालिकामा पोषणको क्षेत्रमा काम गर्दै जाँदा सुन्तला रङको सखरखण्डमा भिटामिन ‘ए’ सहित अन्य पोषणतत्व प्रशस्त पाउने भएपछि गाउँपालिकासँगको सहकार्यमा दिवा खाजामा सखरखण्ड राख्ने कार्यक्रमलाई प्राविधिक सहयोग गरिएको बताउनुभयो ।