जेठ ७, २०८३ बिहिबार

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग सांसदले गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरलाई समय दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीको उपस्थितिको माग गनुृभएको थियो ।

    प्रमले संसद्लाई छलेको भन्दै सांसद महरले नियम ५६ लाई अनदेखा गर्दा प्रम स्वेच्छाचारी हुने भएकाले सदनमा बोलाउन सभामुखसँग माग गर्नुभएको थियो । प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था नियमावलीमा भएकाले सभामुखले पहिलो हप्ताको कुनै एक घण्टा गर्ने व्यवस्था आज जेठको ७ गतेसम्म नभएकाले प्रमलाई उपस्थित गराएर सदन अघि बढाउन उहाँले माग गर्नुभयो । 

    प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी नियमावली बाहिर गएर संसद चल्न नसक्ने भएकाले सभामुखले प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङ गर्न माग गर्नुभयो । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रम संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको, संविधान मिचिएको र सार्वभौम जनताप्रतिको सम्मान यही हो भनी प्रमलाई बोलाउन माग गर्नुभएको थियो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुस्बु ओलीले सदनमा १५ जनाले प्रमलाई प्रश्न सोध्न पाउने, त्यसमा सत्तापक्षकाले पनि सोध्न पाउने भएकाले प्रमलाई उपस्थित बोलाउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले कार्यसूची अनुसार संसद् अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख अर्यालले पटक पटक सांसदलाई बस्न अनुरोध गर्दा नबसेपछि आजै १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।