बैशाख १८, २०८३ शुक्रबार

काठमाडौँ, १८ वैशाखः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताउनुभएको छ । 

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकवर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख गर्नुभयो । 

    “असङ्गठित र अनौपचारिक क्षेत्रका मजदुर तथा ज्यालादारी श्रमिकका आआफ्ना समस्या छन्, यी समस्या कसरी समाधान गर्न सकिन्छ भनेर मजदुर सङ्गठनले ध्यान दिन जरुरी छ”, सहसंयोजक नेपालले भन्नुभयो, “जीवन धान्ने ज्याला छैन, संवैधानिक अधिकार कुण्ठित हुँदैछन्, यसतर्फ ट्रेड युनियनले ध्यान दिनुपर्छ ।”

    अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय संवादबाट सामाजिक न्यायको ढोका खोल्नुपर्नेमा जोड दिँदै पछिल्ला समय नेपालमा असल श्रम सम्बन्धको विकास हुँदै गइरहेको बताउनुभयो । 

    अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिम्खडाले भन्नुभयो, “वैज्ञानिक ढङ्गबाट पारिश्रमिक वृद्धि, श्रमिकको सन्ततिलाई सहुलियतमा पठनपाठन र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गरिनुपर्छ ।”