बैशाख १८, २०८३ शुक्रबार

काठमाडौँ, १८ वैशाखः काठमाडौँ महानगरपालिका–१९ कङ्केश्वरीमा १५ फिट लामो सिंहशय्यासन प्रस्तर बुद्धमूर्ति स्थापना गरिएको छ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा कामपा–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठले आज मूर्ति सार्वजनिक गर्नुभएको हो ।

मूर्तिलाई करिब चार फिट अग्लो आसनमा राखिएको छ भने यसको निर्माण लागत करिब रु २८ लाख रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “यस क्षेत्रलाई बुद्ध पार्क नामकरण गरिएको छ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँदै लैजाने योजना छ । पछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ”, उहाँले भन्नुभयो, “निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।”

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका छन् । त्यसपछि नमूना विहारमा आएर बुद्धको पूजाआराधना गरिएको थियो ।