काठमाडौँ, १८ वैशाख : स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूनाथ चैत्यमा हुने यस वर्षको २५७०औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा गरेको छ ।
महासमितिले बुद्ध जयन्तीका दिन स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा आउने भक्तजनलाई सहजता तथा सुरक्षाका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ । मन्दिरमा दर्शनार्थीको लाइन तथा भीड व्यवस्थापन, सुरक्षा प्रबन्ध, पथप्रदर्शनलगायत कार्यका लागि स्वयंसेवक परिचालन गरिनेछ । मन्दिर परिसरमा प्रसाद वितरण, भीड व्यवस्थापनका लागि सिसीक्यामेरा जडान गरिएको छ भने विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
प्रत्येक वर्ष मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन महासमितिले काठमाडौँ महानगरपालिका, स्थानीय क्लब, सुरक्षाकर्मीको समन्वयमा व्यवस्थापनसम्बन्धी कार्ययोजना निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्दै आएको महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका–१५ कार्यालयको समन्वयमा स्थानीय सङ्घसंस्थाको सहभागितामा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको छ । यस क्षेत्रमा सरसफाइका साथै रङरोगन, बुद्ध झण्डा व्यवस्थापन, सडकबत्ती जडान गरिएको छ । बुद्ध जयन्तीलाई नेपालसहित भारत, चीन, श्रीलङ्का, भुटान, थाइल्यान्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा विशेष सम्मानका साथ मनाइन्छ ।
महासमिति अध्यक्ष भिक्षु महास्थवीरको संयोजकत्वमा बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । बुद्ध जयन्ती व्यवस्थित रूपमा मनाउने प्रचलनअनुसार यस वर्ष पनि विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।
स्वयम्भूस्थित आनन्दकुटी बिहारले पनि सोही दिन मनाउने बुद्ध पूजामा विभिन्न देशका राजदूतसहित उच्च तहका व्यक्तिलाई निम्ता गरेको जनाएको छ । बिहारले अस्थि धातुसमेत प्रदर्शन गर्नेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको अवशेषलाई अस्थि धातु भनिन्छ ।