फागुन २२, २०७७ शनिबार

टोकियो

एजेन्सी : जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ ।प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गर्नुभएको हो ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उहाँको भनाइ छ । संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिनुभयो ।

राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उहाँले बताउनुभयो ।कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उहाँले संकटकाल लम्ब्याउने निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्री सुगाले भने संकटकालको म्याद अहिले दोस्रो पटक थप्नु भएको हो । कारोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सवैलाई आह्वान गरेका छन् ।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिदै आएका थिए ।

संकटकाल लागु गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।