जेठ १, २०८३ शुक्रबार

टीकापुर, १ जेठः कैलालीको टीकापुरमा आजदेखि सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ । केन्द्रमा मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीले सेवा दिनुहुनेछ । 

    केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसीलगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन् । यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ । सेवा सुरु भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कानसहितको सेवा दिन अनुरोध गर्नुभयो । 

    प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले एक वर्षको तयारीपछि सेवा सुरु भएको बताउँदै सिकलसेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पु¥याइने बताउनुभयो । “लोककल्याणकारी राज्यको अवधारणाअनुसार सेवा सुरु गरिएको हो”, उहाँ भन्नुहुन्छ, “यहाँबाट ल्याब, सहुलियत दरमा औषधि उपलब्धलगायत सेवा थालिएको छ । यसले टीकापुर अस्पतालमा बिरामीको चाप घटाउन पनि सहयोग हुनेछ ।”

    वडा नं १ का वडाध्यक्ष मोहन लुहार विकले थारु जातिमा सिकलसेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवद्र्धनात्मक हिसाबले उपचार र परामर्श दिन, रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताउनुभयो । “सिकलसेलको समस्या विशेष गरी थारु जातिमा देखिएको छ”, उहाँ भन्नुहुन्छ, “यहाँ कैलालीका अन्य पालिका र लुम्बिनी प्रदेशका नागरिकले पनि सेवा लिन सक्नेछन् ।”

    टीकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउँदै सिकलसेलका बिरामीलाई उपचारमा विभिन्न समस्या भइरहेका बेला सिकलसेललाई प्राथमिकता दिएर स्वास्थ्य संस्था स्थापना भएकाले सहज हुने बताउनुभयो । 

    पालिकाले कार्यविधि बनाएर नगरस्तरीय सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरेको हो । केन्द्रमार्फत विशेषज्ञ सेवा, सिकलसेलका बिरामीको निदान, उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्ने जनस्वास्थ्य निरीक्षण केवलसिँह सार्की बताउनुहुन्छ । 

    “कोभिड महामारीका बेला बनेको बहुउद्देश्यीय भवनलाई सदुपयोग गरी सेवा थालिएको छ”, उहाँ भन्नुहुन्छ, “हामीले उपचारसँगै सचेतना र रोकथामका क्षेत्रलाई प्राथमिकता दिएर सेवा दिनेछौँ ।”

    यसअघि पालिकाका १० स्थानमा स्वास्थ्य संस्थामार्फत सेवा दिइँदै आइएको थियो । टीकापुर नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको सङ्ख्या अब ११ पुगेको छ भने यहाँ प्रादेशिक टीकापुर अस्पातल छ । विशेषगरी सिकलसेल बिरामीलाई सेवा दिने उद्देश्यले यो प्रवद्र्धन केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाका सह–संयोजक सिनियर अहेब अधिकृत कमलबहादुर रावलले बताउनुभयो ।