पुस २३, २०८१ मंगलबार

विराटनगर, २३ पुसः चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।  शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ । 

 ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो । 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा  मानवीय  क्षतिको सूचना नआएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताउनुभयो । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिनुभयो । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताउनुभयो । उहाँले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिनुभयो ।