फागुन २१, २०७७ शुक्रबार

स्वास्थ मन्त्रालय

काठमाडौं : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारकर्मीहरूका लागि कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

आज (शुक्रबार) भर्चुअल रुपमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिड विरुद्धको खोप अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका हुन ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका विज्ञ डा.राहुल प्रधानले कोरोना भाइरसको जोखिमबाट बच्न खोप नै सबैभन्दा उत्तम उपाय भएको बताउनुभयो । उक्त छलफलमा बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार आशा थापाले कोभिड विरुद्धको खोप अभियान सफल पार्न र सर्वसाधारणमा सूचना पुर्‍याउन सञ्चार माध्यमहरूले सकारात्मक भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा माघ १४ गतेबाट कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान सुरु भएको थियो । पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी एम्बुलेन्स चालकलगायत फ्रन्टलाइनमा काम गर्नेलाई खोप लगाइएको छ ।

सरकारले यही फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु गर्दै छ । दोस्रो चरणको खोप अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।