असार २८, २०८१ शुक्रबार

मुग्लिन (चितवन),२८ असारः नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये  एकमा सात भारतीय  नागरिक रहेका खुलेको छ । 

वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

 हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको  विवरण सार्वजनिक गरेको छ । सोही मार्गभएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन ।   सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका  छन् । 

पहिरोले बगाएका दुवै  बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।