काठमाडौँ, ६ जेठः शैक्षिक जनशक्ति विकास परिषद्ले आज शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न परिषद्को २९ औँ बैठकबाट ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।
शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालयअन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।
मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्याउने विश्वास लिइएको छ ।
परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्मअनुरूप तीनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य लिएको छ । यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयको छ ।