माघ १७, २०८० बुधबार

चितवन, १७ माघ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताउनुभएको छ । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो । 

“लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन”, नेता कोइरालाले  भन्नुभयो । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उहाँले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताउनुभयो ।  

फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताउनुभयो । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।” 

सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो । “समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ”, उहाँले भन्नुभयो । विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताउनुयो ।