मंसिर १९, २०८० मंगलबार

नेकपा (एकीकृत समाजवादी)को आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । 

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको उक्त बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार आजको बैठकले यही मङसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ । 

    सोमबार बसेको उक्त पार्टीको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । यसैगरी पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको उपमहासचिव खतिवडाले बताउनुभयो ।