कात्तिक ३०, २०८० बिहिबार

काठमाडौँ, ३० कात्तिकः मङ्गोलियाका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले त्यहाँका विदेशमन्त्री न्यामदोर्ज अङ्खबायारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गर्नुभएको छ । 

राजदूत श्रेष्ठलाई स्वागत गर्दै मन्त्री अङ्खबायारले नेपालसँगको सम्बन्ध र सहयोग विस्तार गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभयो । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठक नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै उहाँले यो वर्षको शिशिर याम समाप्त हुने वित्तिकै संयन्त्रको बैठक आयोजना गर्न आफू इच्छुक रहेको बताउनुभयो । 

नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार गर्न दुई देशबीच हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुवै देशका बौद्धमार्गीका माध्यमबाट जनतस्तरको सम्बन्धलाई अझ सबल बनाउन मद्दत पुग्ने बताउनुभयो । 

त्यस अवसरमा शिष्टाचार महापाललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।