सुर्खैत जिल्लाको प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोकानजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा. शङ्कर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको बताए। विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ।
आयुर्वेद अस्पताल प्रमुख डा. रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन्। ‘घटनामा अरू कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ,’ जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने।