जेठ २६, २०७८ बुधबार

धनगढीमा कोरोना भाइरसविरूद्धको खोप लगाउने कार्यक्रम व्यवस्थित नहुँदा अव्यवस्थित भीड देखिएको छ ।

धनगढीस्थित रङ्गशालामा जेठ २५ गते मङ्गलबारदेखि चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ ।

सरकारले यस पटक खोप लगाउन ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेको छ। तर रङ्गशालास्थित खोप केन्द्र सो उमेर समूहबाहेक सबै उमेर समूहका नागरिकहरूको थामिनसक्नु भीड लागेको हो । 
यसरी अव्यवस्थित भीडभाड गर्दा कोरोना भाइरस संक्रमणको जोखिम भने झनै बढेको भनणदै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना महामारी विकराल रूपमा फैलिरहेका बेला अहिलेसम्म कोरोनाको कुनै पनि औषधि पत्ता नलागेकाले खोपप्रति मानिसहरूको विश्वास बढेको हो ।


जिल्ला प्रशासन कार्यालय कैलालीले भने भीडलाई नियन्त्रण गर्न र खोप सञ्चालन कार्यलाई व्यवस्थित गर्न बिहानैदेखि सुरक्षाकर्मी खटाइए पनि नियन्त्रण नभएको बताएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले खोप प्रतिको नागरिकहरूको आकर्षणका कारण भीडभाड बढेको बताएका छन्। ‘पहिला मानिसहरू खोप लगाउन डराउँथे अहिले खोपप्रति आकर्षण बढेको छ। त्यसैले भीडभाड बढेको हो’ उनले भने।

यद्यपि भीडभाडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी खटाइएको प्रशासनको भनाइ छ ।