जेठ २३, २०७८ आइतबार

 बाँकेमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका दुई–दुई जनाको शनिबार रातभरमा मृत्यु भएको छ ।

बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति १२ः४५ बजे मृत्यु भएको हो । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते भर्ना गरिएका उनको १८ गते पीसीआर गरिएको थियो । उनको आइतबार विहान साढे ५ बजे मृत्यु भएको छ ।

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएका उनको ९ गते पीसीआर गरिएको थियो । उनको राति ११ः२५ बजे मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ४५ वर्षीया महिलाको युनाइटेड अस्पतालमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ः०५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। अहिलेसम्म तीन सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय १३ जनाको मृत्यु भइसकेको छ ।