जेठ २१, २०७८ शुक्रबार

वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जको नारायणी अस्पतालमा २ जना र भवानी अस्पतालमा एक जना गरी थप ३ जना संक्रमितको मृत्यु भएको हो।

वीरगञ्जको भवानी अस्पतालमा उपचार गराइरहेका पर्साको पर्सागढी नगरपालिका–३ का ३८ वर्षीय युवकको मृत्यु भएको छ। गत जेठ १२ गते उपचारको लागि भर्ना भएका ती युवकको बिहीबार राति ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

यस्तै, नारायणी अस्पतालमा उपचाररत रौतहटको बौधिमाई नगरपालिका–६ निावसी ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
गत जेठ ११ गते उपचारको लागि अस्पतालमा भर्ना भएका उनको बिहीबार राति ८ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा।उदयनारायण सिंहले जानकारी दिए ।

यस्तै, सोही अस्पतालमा सर्लाहीको बरहथवा नगरपालिका–५ निवासी ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। गत जेठ ४ गते अस्पतालमा उपचारका लागि भर्ना भएका उनको बिहीबार राति ९ बजेर ५५ मिनेटमा ज्यान गएको डा।सिंहले बताए ।