जेठ २०, २०७८ बिहिबार

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाएको छ। सुदूरपश्चिम प्रदेशले बुधबार महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो ।

यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि महाकाली अस्पताल बनाइएको थियो । प्रादेशिक अस्पताल भएपछि यहाँ सेती अस्पतालका जस्तै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुनेछन् । प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन् । यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीकाे टीकापुरलाई उप-प्रादेशिक बनाएको थियो ।

महाकालीलाई प्रादेशिक अस्पताल बनाउन दबाव दिँदै आएकामा यसपटक माग सम्बोधन गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले बताएका छन् । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन् । २०३४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको यो अस्पताल २०४३ मा अञ्चल अस्पताल बनेको थियो ।