काटमाडौं । नेपाल स्काउटले सोमबारदेखि कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरूको पनि शव व्यवस्थापन गर्न शुरू गरेको छ । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।
कोभिड १९को संक्रमणबाट मृत्यु हुने संख्या बढेसँगै शव व्यवस्थापनमा पनि चुनौती थपिएको थियो । शव व्यवस्थापनमा सहजीकरण गर्न लागि आजदेखि स्काउटले संक्रमितको शव व्यवस्थापन गर्न शुरू गरेको स्काउटले जनाएको छ ।
मोरङको विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरूको टिमले संस्थागत रूपमा पहिलोपटक कोभिड १९ बाट संक्रमण भई निधन भएका विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेका छन् ।
यसअघि नै संक्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।
स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने व्यवस्था गरिएको पनि घिमिरेले बताए । कोभिड(१९ महामारी लाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्द्श्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि संचालनमा रहेको छ ।