जेठ १०, २०७८ सोमबार

कोभिड १९ सङ्क्रमणको दोश्रो लहरसँगै यतिबेला सङ्घीय राजधानी काठमाडौँलगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाइएको छ । यसले सर्वसाधारणको जनजीवन क्रमशः असहज बन्दै गएको छ ।

निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा कोरोना सङ्क्रमणको पहिचान दर र मृत्यु सङ्ख्या घट्न सकिरहेको छैन । सरकार कोरोना सङ्क्रमण कम गराउन हर तरहले लागिरहेको छ । सरकारले कोरोनाविरुद्धको खोपका लागि विश्व समुदायसँग सहायता मागिरहेको छ ।

यससँगै सरकारलाई विभिन्न सङ्घ, संस्था दातृ निकायहरूले विभिन्न किसिमका स्वास्थ्य सामग्री सहयोगस्वरुप प्राप्त भइरहेको छ । यसरी प्राप्त हुने स्वास्थ्य सामग्री आकस्मिक उपचार सेवाका लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन् ।

सहयोगस्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण र कार्य सघनताको मूल्याङ्कन गरेको पाइँदैन । महामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जोखिममा पर्ने देखिन्छ । यसमा सहयोग लिने निकाय चनाखो हुनुपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

काठमाडौँका विभिन्न ल्याब र अस्पतालमा परामर्शदाताको रुपमा काम गर्दै आएका बायोमेडिकल इन्जिनियर हरिराम दवाडीले आकस्मिक स्वास्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर र काम गराइबारे सही ढङ्गले परीक्षण नहुँदा जोखिम बढिरहेको बताए ।

उनले पछिल्लो समय अभाव र आवश्यकताको अनाधिकृत रूपमा फाइदा उठाउँदै बजारमा भेन्टिलेटर, हाइफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आग्रह गरे । यस्तै मेडिकल स्वास्थ्य सामग्री तथा उपकरणको बिक्री वितरण गर्दै आइरहेका व्यावसायीले पनि सामग्री उपकरण खरिद गर्न प्रयोग गर्नुपूर्व धेरै विचार गर्न र अध्ययन गरेरमात्र निर्णय लिन आग्रह गरेका छन् ।

स्वास्थ्य सामग्री तथा उपकरण बिक्री गर्दै आएका व्यवसायी तथा रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालका अध्यक्ष सुरेश घिमिरेले कोरोना सङ्क्रमणको जोखिम बढेसँगै आकस्मिक स्वास्थ्य सेवा उपचारका लागि प्रयोग हुने उपकरणको खरिद र प्रयोगले व्यक्तिहरूको ज्यान जोखिममा पर्न थालेको बताए । उनले प्राविधिक ज्ञानसहित प्रयोग गर्नुपर्ने उपकरण घरघरमा प्रयोग हुनुको साथै बजारमा नक्कली सामानको बिक्रीवितरण बढेको बताए ।

यसैबीच, बजारमा छ्यापछ्याप्ती कम गुणस्तर र नक्कली सामान आउन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने स्वास्थ्य सामग्री उपकरणको गुणस्तर परीक्षण गरिने बताएको छ ।