जेठ ९, २०७८ आइतबार

काठमाडौं । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना तीव्र रूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने , के नगर्ने , विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजक हुन आह्वान गरे ।

सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका छन् ।