सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ साविक बकधुवा गाविसका अध्यक्ष मोतिलाल चौधरीको निधन भएको छ ।चौधरीको ६७ वर्षको उमेरमा उपचारको क्रममा अस्पतालमा निधन भएको हो । विगत लामो समयदेखि हृदय रोगबाट पीडित चौधरीलाई असहज भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
चौधरीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उहाँको शवलाई गाउँदेखि उत्तर चुरे वन क्षेत्रमा अवस्थित कैली खोलामा व्यवस्थापन गरिएको स्थानीयले जनाएका छन् ।
अध्यक्ष चौधरी साविक बक्धुवा गाविसमा नेकपा एमालेबाट २०४८ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गरी दुई कार्यकाल अध्यक्षमा निर्वाचित भई कुशलतापूर्वक कार्यभार समाल्नु भएको थियो । बकधुवा गाविसका पहिलो वामपन्थी नेता चौधरी सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आउनुभएको थियो । चौधरीको श्रीमती, एक छोरा र तीन छोरी छिन् ।