धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मोरङ बेलबारीकी ५६ वर्षीया महिला र सुन्दरहरैचाका ७२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो।
सुन्दरहरैचा–१० का वृद्धमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्यादेखिएसँगै उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा वैशाख ११ गते थप उपचारका लागि भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएको २५ औँ दिनमा बृद्धको मंगलबार बेलुका ५ बजेर ५० मिनेटमा मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए।
त्यसैगरि प्रतिष्ठानमा बेलबारी-९ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। मधुमेह र उच्च रक्तचापबाट पीडित महिलामा जेष्ठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै जेठ ३ गते अस्पतालको कोभिड १९ अस्पतालमा भर्ना गरिएकी महिलाको मंगलबार बेलुका करिब ६ बजेर ३० मिनेटमा मृत्यु भएको हो। यससँगै प्रतिष्ठानमा हालसम्म १ सय ६५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए।