फागुन १६, २०७९ मंगलबार

काठमाडौं: संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुन जाने तयारीमा रहेको बेला प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा उनको भ्रमण रोकेका थिए।

पूर्वकानुनमन्त्री कोइराला सोमबार बिहान जेनेभा पुगेका थिए। उनलाई जेनेभास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मणिप्रसाद भट्टराई, संयुक्त राष्ट्रसंघको कार्यालय र अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका स्थायी प्रतिनिधि तथा नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।

कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल पनि परिषद बैठकमा सहभागी हुन जेनेभा पुगेका छन्।

कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।