फागुन १५, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको प्रमुख साझेदार नेकपा एमालेले सरकार छाडेको छ ।

एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण रोकिदिएपछि एमालेले अपर्झट सरकार छाड्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमवार बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । 

विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो । एमालेले अर्थ, परराष्ट्र लगायतका मन्त्रालय लिएर सरकारमा गएको थियो । 

प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन पुस ११ गते एमाले सरकारमा सहभागि भएको थियो । उपप्रधानम एवं अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्रीले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारी गरेका छन् । 

सरकारबारे पर्ख र हेरको रणनीतिमा रहेको एमालेले फागुन २५ सम्म समर्थन कायमै राख्ने निर्णय गरेको थियो । तर प्रचण्डले एमाले सरकारबाट हटोस् भन्ने आशय देखाएपछि एमालेले आकस्मिक बैठक राखेर सरकारबाट हट्ने निर्णय गरेको हो । 

‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गर्ने सोचमा थियौँ, पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरूलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो त्यसपछि सरकारमा बस्न सकेनौं’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘परराष्ट्रमन्त्री विमला राइलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागीय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि एमाले र सहभागिताप्रति सार्वजनिक रूपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।’

आइतवार राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लागेकी मन्त्री राइलाई हिजो प्रधानमन्त्रीले रोकेका थिए ।

शनिबार राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने ८ दलीय निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले एमाले प्रतिपक्षीमा बस्ने अभिव्यक्ति दिएका थिए। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीलगायत ८ दलले निर्णय गरे पनि सरकारमा रहने या बस्नेबारे एमालेले कुनै धारणा बनाएको थिएन।

उक्त दिन महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कानुनी र प्रक्रियाको हिसाबले अब नयाँ प्रक्रियामा नयाँ सरकार बन्ने वा पुनर्गठन हुने बताएका थिए । उनले त्यस क्रममा भनेका थिए,ुएमाले करिब करिब प्रतिपक्षमा गयो।ु  

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका दुई दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्डले अब संसदमा पुनः विश्वासको मत लिनुपर्ने भएको छ । 

यसअघि पुस २६ गते संसदमा प्रचण्डले २६८ सांसदको विश्वासका मत पाएका थिए ।