नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरूलाई राष्ट्रपतिका विषयमा कुनै प्रस्ताव नआएको स्पष्ट गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका विषयमा प्रस्ताव नै नआएको बताए।
‘बैठकमा अध्यक्षले अहिलेको छलफल र भेटघाटबारे ब्रिफिङ गर्नुभयो’, नेता खनालले भने, ‘तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने रिपोर्टिङ भएन । त्यसैले बाहिरको चर्चा हल्ला मात्रै रहेछ भन्नुपर्यो।’
बैठकले राष्ट्रपति निर्वाचनका सन्दर्भमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग परामर्श गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
एमालेले राष्ट्रपतिका लागि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेको समाचार बाहिर आएको थियो।