फागुन १०, २०७९ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतका विषयमा छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चलरअचल सम्पत्ति दूरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न सो जाँचबुझ आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्दै सो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्ति समेत अतिक्रमण गरिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दूरुपयोग गर्ने काम भईरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराउनुभयो ।