बैशाख ३०, २०७८ बिहिबार

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कूटनीतिक पहल तीव्र गरेका छन् । यस क्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो र छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका छन् । उनले नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका छन् ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको पोखरेलले बताए ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरू सहयोग गरिने जानकारी दिए । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभयो । खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईँलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थियो । साथै उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए ।