काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।
उनले बैठकपछि पत्रकारसँग कुरा गर्दै भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको जानकारी दिए । उनले यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको बताउँदै बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको जानकारी दिए ।उनले आजको बैठकमा राष्ट्रपति चुनावबारे छलफल नभएको समेत बताए।
यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा सकारात्मक छलफल भएको बताए । उनले आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि बताए । सत्ता साझेदार दलहरुबीच आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउने सहमत भएको समेत उनले बताए ।