दाङ: राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ। बिहान १० बजे शुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म ३०४ जनाले मतदान गरेका छन्।
घोराही उपमहानगरपालिका-१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी २१७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। मतगणना शुरु भएको उनले बताए।
उनका अनुसार स्थानीय तहअन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले मतदान गर्न उपस्थित भइनन्।
सूचना अधिकारी कुँवरका अनुसार दिउँसो साढे १ बजेसम्म ३०४ जनाले मतदान गरिसकेका थिए।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुखरउपप्रमुख गरेर ३०५ जना मतदाता रहेका थिए।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट गजेन्द्रवीर राय उम्मेदवार रहेका छन्। निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ।